डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन डेङ्गु भाइरसबाट संक्रमित एडिज नामको लामखुट्टेको टोकाइबाट मात्र हुने गर्दछ । Flaviviridae genus Flavivirus परिवारको एकल पोजेटिभ-स्ट्र्यान्डेड RNA भाइरस हो । लामखुट्टेको टोकाइबाट यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस (Aedes albopictus) र एडिज एजेप्टी (Aedes aegypti) मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भईसकेको छ । जसलाई DENV-1, DENV-2, DENV-3, र DENV-4 भनिन्छ । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ । डेङ्गु भाइरस संक्रमणले रोगको विस्तृत क्लिनिकल स्पेक्ट्रम निम्त्याउन सक्छ, 'डेङ्गु ज्वरो' भनेर चिनिने हल्का ज्वरो देखि लिएर 'गम्भीर डेङ्गु' सम्म, जसलाई पहिले "डेङ्गु हेमोरेजिक फिभर (DHF)" भनिन्छ, जुन केशिका चुहावटले हाइपोभोलेमिक झटका (Hypovolemic Shock), अंग कमजोरी र रक्तस्राव जटिलताहरू निम्त्याउँछ । "डेङ्गु हेमोरेजिक फिभर (DHF)" को बारेमा तल उल्लेख गरेको छु पढ्नुहोला । डेङ्गु ज्वरोमा रगतसम्बन्धी असर भएर प्लेटलेट्सको संख्या अध्याधिक कम हुने जटिलता बढ्दछ । हाल डेङ्गुको कुनै एन्टिभाइरल औषधिहरू र कुनै खोप उपलब्ध छैन ।
यसले दिउसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष विश्वभर लाखौँको सङ्ख्यामा हुने गरेको छ । डेङ्गु ज्वरो दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।
डेङ्गुका लक्षणहरू :
अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन । डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म) देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरुमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् :
- उच्च ज्वरो आउनु
- मांसपेशी, हड्डी तथा जोर्नी बेस्सरी दुख्नु
- आँखाको पछाडि (भित्रि) भाग दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
- शरीरका ग्रंथिहरु सुन्निनु
- छाला रातो हुनुका साथै छालामा डाबर आउनु
लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
डेङ्गुबाट बच्ने उपायहरू :
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- लामो बाहुला भएको लुगा लगाउने
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने । यस्तै, घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरु, बाल्टी तथा ब्यारेलहरु हटाउने
- घर/विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने
- यदि गर्भवती हुनुहुन्छ भने सम्भव भएसम्म डेङ्गु को सङ्क्रमण भएको ठाउँमा नजाने ("डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा" तल उल्लेख गरेको छु पढ्नुहोला ।)
डेङ्गुका लक्षणहरू देखिएमा के गर्ने ?
- स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने
- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने
- अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने
डेङ्गु ज्वरो छ कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ । तपाईंको नसाबाट लिइएको रगतको नमूना लिईन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाईन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।
डेङ्गु ज्वरोको उपचार कसरी गरिन्छ ?
डेङ्गु ज्वरोको उपचार गर्ने कुनै खास औषधि हुँदैन । यो रोग लागेको खण्डमा हामीले आफ्नो लक्षणहरू व्यवस्थापन गर्नुपर्छ र गम्भीर लक्षणहरु देखापरेमा तुरुन्तै डाक्टर कहाँ वा तुरुन्तै आपतकालीन कक्षमा जानुपर्छ ।
डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा कस्तो जटिलता हुनसक्छ ?
यदि तपाईं गर्भवती हुनुहुन्छ र डेङ्गु ज्वरो छ भने, यसले गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्माउन जस्ता समस्या हुन सक्छ । तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।
गम्भीर डेङ्गु वा Dengue Hemorrhagic Fever भनेको के हो ?
गम्भीर डेङ्गुका लक्षणहरू जीवनको लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ । डेङ्गु भाइरसका कारण तपाईंको रक्तनलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेङ्गु हुन्छ । गम्भीर डेङ्गु भएमा तपाईंको रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ । डेङ्गुको गम्भीर ज्वरोको चेतावनी संकेत वा लक्षणहरू चाँडै विकास हुन सक्छ । त्यस्ता संकेतहरू सामान्यतया ज्वरो हटेको पहिलो वा दोस्रो दिन पछि सुरु हुन सक्छ र यी निम्न प्रकारका हुन सक्छन् :
- पेट दुख्नु
- लगातार बान्ता हुनु
- गिजा वा नाकबाट रक्तस्राव हुनु
- दिसापिसाब वा बान्तामा रगत देखिनु
- सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
- चिडचिडाहट या बेचैनी हुनु
- छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ
यदि तपाईंलाई डेङ्गु लागेको छ वा डेङ्गुको प्रकोप भएको क्षेत्रमा बस्नुहुन्छ भने र यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भएमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोस् ।
References
- https://en.wikipedia.org/wiki/Dengue_virus
- https://en.wikipedia.org/wiki/Dengue_fever
- https://ne.wikipedia.org/s/1plf
- https://en.wikipedia.org/wiki/Aedes_aegypti
- https://en.wikipedia.org/wiki/Aedes_albopictus
- https://www.sciencedirect.com/topics/medicine-and-dentistry/dengue-virus-4
- https://www.unicef.org/nepal/ne/डेंगीः-सुरक्षित-रहौं-रोकथाम-गरौं-नियन्त्रण-गरौं
- https://www.bbc.com/nepali/news-48523498
- https://www.clinicone.com.np/डेंगुका-लक्षणहरु-नेपाली