- ‘नोभल’ कोरोना भाइरस के हो ?
- कोभिड-१९ कसरी फैलिन्छ ?
- कोरोना भाइरसका लक्षणहरू के के हुन् ?
- संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु ?
- के मैले (स्वास्थ्यकर्मीहरूले लगाउने) मास्क लगाउनु पर्दछ ?
- के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ ?
- मेरा बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने ?
- परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने ?
- के मैले मेरा छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ ?
- हात धुने उत्तम तरिका के हो ?
- यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला ?
- के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ ?
- कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ ?
‘नोभल’ कोरोना भाइरस के हो ?
नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो । नोभल कोरोना भाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो । यसलाई हाल कोरोना भाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ । यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो । कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ ।
कोभिड-१९ कसरी फैलिन्छ ?
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ । कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड-१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ ।
कोरोना भाइरसका लक्षणहरू के के हुन् ?
ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन् । जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ । अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ ।
यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ । त्यसकारण कसैलाई कोभिड-१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नकालागि परिक्षण नै गर्नुपर्ने हुन्छ । यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालको प्रयोग गर्नु र त्यसपश्चात उक्त कागजी-रुमाललाई बन्द फोहोरदानीमा फाल्नु) ।
संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु ?
संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न चार उपायहरू अवलम्बन गर्न सकिन्छ :
![]() |
नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस् । |
![]() |
खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस् । |
![]() |
रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस् । |
![]() |
आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस् । |
के मैले (स्वास्थ्यकर्मीहरूले लगाउने) मास्क लगाउनु पर्दछ ?
यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्नुहोस् । अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन । मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ ।
मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ – जस्तै: नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्युँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने ।
के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ ?
यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन । यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ । हालसम्म कोभिड-१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन् ।
मेरा बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने ?
कोभिड-१९ को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् - खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९ को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ ।
नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुहोस् ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस् ।
आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस् ।
परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने ?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् । आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस् ।
के मैले मेरा छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ ?
यदि तपाईंका बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् । अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानुहोस् ।
यदि तपाईंका बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ ।
बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुहोस्, जस्तै: नियमित रुपमा हात धुने (विस्तृत विधि तल हेर्नुहोस्), खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि ।
हात धुने उत्तम तरिका के हो ?
- बगिरहेको पानीमा हात भिजाउने,
- भिजेको हातमा मनग्गे साबुन लगाउने,
- हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
- बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
- सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।
नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि । यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस् ।
यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला ?
वैदेशिक यात्रा गर्दा उक्त देशमा लागु गरिएको यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्नुहोस् ।
यात्राका क्रममा आफु र आफ्ना बालबालिकाले सरसफाईका विधिहरू अपनाउनु होस् – नियमित रुपमा हात धुने वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी असल व्यवहार अपनाउने (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई तत्कालै बन्द फोहोरदानीमा फाल्ने), र खोकिरहेका वा हाच्छ्युँ गरिरहेका व्यक्तिबाट टाढै रहने । यसका साथै जिवाणुनाशक जेल वा क्रिम (स्यानिटाईजर), एक पटक मात्र प्रयोग गरिने कागजी-रुमाल, र पुछ्न प्रयोग गरिने जिवाणुनाशक रुमाल अभिभावकले हरदम आफुसँग राख्नु होस् ।
यसका अतिरिक्त बस वा हवाईजहाजमा बसिसकेपछि आफ्नो सिट, हात अड्याउने स्थान, छोएर प्रयोग गरिने स्क्रिन आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस् । साथै आफु र आफ्ना बालबालिका बसेको होटल वा अन्य आवासमा प्रयोगमा आउने सतहहरू, ढोका खोल्ने ह्यान्डल, रिमोट-कन्ट्रोल आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस् ।
के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ ?
हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन । यस विषयमा हाल अध्ययन भइरहेको छ । गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।
कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ ?
कोरोनाभाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ । स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ । तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ ।
लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामापनि कोभिड-१९ भएको शंकालागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ ।
आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ ।
References